अबुझ मन, नयाँ वर्ष र शुभकामना

January 13, 2017

‘भनेजस्तो नहुँदा खेरी, निदाउनै सक्दिन रातभरी’–सायद कहिंकतै तपाइँले गीतको यो एक टुक्का सुन्नुभएको हुनुपर्छ । लाग्नसक्छ आखिर गीत न हो, जे बनाए त्यही हुन्छ । अहँ ! तर त्यसो होइन । मानिसले आफ्नो चाहना र मनको भावना छन्दप्रवाह शैलीमा व्यक्त गर्ने वाणी हो गीत ।
‘आउनु माया जाउँ उँधै उधै, कहिले रुँदै कहिले मन बुझाउँदै’–अनगिन्ति समस्याहरूको जालोमा जेलिएपछि त्यसबाट मुक्ति पाउन भावनात्मक रूपमा मनभित्र छचल्किएका मनोवादहरूको स्खलन हो गीत । सर्जकले मनभित्र मडारिएको कालो बादल हटाउन या त मनभित्रै उठेका काल्पनिक छालहरू शान्त पार्न कलात्मक ढंगले गीतको रचना गरेका हुन्छन्। माथिको अंशमा घोत्लिने हो भने सर्जकले घुमाउरो शैलीमा मन बुझाउने तरिका सुझाएका छन् । उपाय खोजेका छन् । यो भन्न सकिन्छ कि मनभित्र खेलेका नाटीकुटी मनोवादहरू, भलै कतिपय परिस्थितिमा वास्तविक जीवनको याथार्थ भोगाईहरूको समिश्रण कहिले मनमनै गुनगुनाइन्छ, कहिले भुनभुनाइन्छ त कहिले आफ्नो मन आफै बुझाइन्छ । गीत मात्र होइन, कथा, कविता, नाटक या त अरू केही नै, समग्रमा मानिसको जीवनको याथर्थता हो । वास्तविक जीवनको एेना हो । नबुझेको चित्त अर्थात मन बुझाउन त्यति सजिलो कहाँ छ र ! मन अर्थात चित्त बुझेको आभाषसम्म महशुस गर्न सकिन्छ तर मनै त हो आखिर…बुझ्दै बुझ्दैन । भनिन्छ सन्तोष विकासको वाधक हो । तर कुन कुरामा सन्तोष मान्ने र कुन कुरामा असन्तोष मान्ने खुट्याउन आफैमा अप्ठेरो छ। लोभी मन बुझाउन झनै गार्हो । त्यसैले त साहित्यकारहरू भन्छन्-‘पशु लोभ गर्छ खाली एक पेट भर्न तर मानिस लोभ गर्छ आफू पूँजीले मोटाएर दुब्लोमाथि शासन गर्न ।’

प्रसंगमा, हिजो पनि भनेजस्तो भएन, सोचेजस्तो भएन, आफैले गरेको काममा चित्त अर्थात मन बुझेन । मन बुझाउन भनेर शुरुमा दुई प्याक लगाउने विचार गरें । छिट्टै मन बुझ्ला भनेर हतारमै दुई प्याक स्वाट्टै परें । तर कहाँ त्यति सजिलै बुझ्छ र मन ? मन नबुझेसम्म थप्दै गएँ । अन्त्यमा मन बुझे या बुझेन पत्तै भएन । थाहा हुँदा उज्यालो भैसकेको रहेछ। अझै मन बुझिरहेको थिएन किनभने अघिल्लो दिन मन बुझाउन पिएकोले टाउको दुखिरहेको थियो र फेरि मन बुझिरहेको थिएन–बेकार धेरै खाइएछ । यस्तै मन बुझाउने क्रममा फेरि अर्कोदिन साथीसँग बसेर खाइयो, कुराकानीकै क्रममा हाम्रो एक अर्काको मन बुझ्न सकेन । सँधैजसो एकअर्काको मन बुझ्ने हामी दुईको मन अनायासै बुझेन । कहिलेकाहीं कारणहरू गाैण भैदिन्छन् । मन न हो खै किनकिन नबुझ्ने भैदिन्छ । आ–आफ्नो मन बुझाउन एकअर्कामा निकै तर्कवितर्क गर्यौं तैपनि मन बुझ्न सकेन । मानेलिउँ, हात हालाहालकै स्थिति आयो, अझै मन बुझेन । नबुझेकै सिङ्गो एक–एक थान मन बोकेर हामी दुइ आ–आफ्नो घरतिर लाग्यौं । रातभरी मन यसै बुझेन । होस्, नबुझे नबुझिराखोस् नाथे मन । सायद सर्जकको पनि यो अनुभव छ र यस्तै बेला घाईते मनबाट रचना गरिएको हुनुपर्छ यो गीत–‘भनेजस्तो नहुँदा खेरी, निदाउनै सक्दिन रातभरी’ ।

तपाइँ जहाँसुकै बस्नुस्, चाहे देशमा बस्नुस् या त विदेशमा । मन बुझाउन बडो गाह्रो छ । सबैको हकमा लागू नहोला तर अधिकांश देशमा बसेकाहरुको विदेश जान नपाएकोमा मन बुझेको छैन । विदेश पसेकाहरु बुढेसकाल लागेका बाबुआमा र भुराभुरीसँगै देशमा बस्न पाएका छैनन् – रहरभन्दा बाध्यता बढी, त्यसैमा मन बुझेको छैन । जापान आएकाहरु अमेरिका गईएन, मन बुझेको छैन । भनेजस्तो जागीर भएन, तलब भएन, गाडी भएन, घर भएन अनि अरू के के हो के के भएन ।हरेक क्षेत्र र क्षणमा बुझाउनै सकिन्न मन । जापानको परिवेशमा कुरा गर्नुपर्दा, वर्तमानमा १० मानको जागीर खाएकाहरुको १२–१५ अनि १२–१५ खानेहरुको २०–२५ मानको जागीर भएन-मन बुझ्ने कुरै भएन । विद्यार्थीहरुलाई जागीर खान पाएको भए भन्ने भएको छ- मन बुझेको छैन । अनि जागीर खाएकाहरु बरु विद्यार्थीमा नै बढी कमाइन्थ्यो, स्वतन्त्रता थियो भन्दै वर्तमानको जागीरमा मन बुझाउन सकेका छैनन् । छोरा भएकाहरु छोरी नभएर अनि छोरी भएकाहरु छोरा नभएर मन बुझेको छैन । आखिर खै कसरी बुझ्छ मन ? यसरी नै मन बुझाउनै नसकेर मन नबुझेकाहरु धेरै छाैं हामी ।

परापूर्व कालमा पनि समग्र मनहरू नबुझेरै महाभारतको युद्ध भयो । मनहरू नबुझेरै विश्वयुद्धहरू भए । शान्तिका दूत राजकुमार सिद्धार्थ गौतम, मन नबुझेरै दरवारबाट भागेका हुन् । मन बुझाउने उपाय खोज्दा खोज्दै उनी बुद्ध बने । बुद्ध बनेर पनि उनको मन बुझेन र उनी आफैले प्राप्त गरेको ज्ञान सबैलाई बाँडदै हिडे । उनले शुरुमा आफ्नै मन बुझाउनको लागि भौतारिएका थिए । उनले खोजेको कुरा प्राप्त गरे पनि, मन बुझाउन सकिने कुरा भेटाए पनि तर त्यसैमा पनि उनको मन बुझेन र नै सबैलाई ज्ञान बाँडदै विभिन्न ठाउँहरूमा डुले । उनी वुद्ध बने तर त्यही वुद्धको देशमा जन्मेका हामी वुद्ध बन्न कहिल्यै सकेनाैं -कारण गाैण नै होलान तर उही नै हो मन बुझाउन सकिएन । देशमा नेता, कर्मचारी, विद्यार्थी, कार्यकर्ता कसैको मन बुझेको छैन । त्यसैले त वर्तमानमा एकले अर्कालाई ठग्ने, मारपीट गर्ने, माैका पायो कि छिर्के हान्ने परिस्थिति श्रृजना भएको छ ।

तसर्थ समग्रमा मानव चोला यस्तो अचम्मको चोला हो, जुन चित्त अर्थात मन नबुझेर नै अन्त्य हुन्छ । जन्मेर चेत पाउने भएपछि हरेक पटक पश्चातापको भूमरीमा निस्सासिएकै हुन्छ मान्छे । ठूलो कुरा नगरी सामान्य घर चलाउन अनि आफ्नै बानी सुधार्न पनि हामी पश्चाताप गरिरहेकै हुन्छौं । कसैको अाफ्नै अनुहारमा मन बुझेको छैन, कसैको दाँतमा, कसैको भूँडीमा त कसैको केहीमा । केही न केहीमा हाम्रो चित्त बुझ्दैन ।अघिल्लो वर्ष भनेजस्तो भएन, यो वर्ष होला ।अघिल्लो महिना भनेजस्तो भएन, यो महिना होला । यसैमा थाहै नपाइ यो वर्ष र महिना अघिल्लो भैदिन्छ । तर हरेक महिना र वर्षहरु वितोस, हाम्रो मन बुझ्दै बुझ्दैन । मन नबुझेका कैयौं वर्षहरु विते र वित्ने वाला छन् तर अहं मन बुझ्दैन । नबुझेरै जीवन मिलिक्कै सकिन्छ । २०१५ सालमा भनेजस्तो भएन मन बुझेन, २०१६ सालमा पनि मन बुझाउन सकिएन । समय लिंडेढिपी भएको मान्छेजस्तो हो, एकोहोरो, एकोहोरो वितिरहन्छ, मन बुझोस या नबुझोस् । अब २०१७ साल पनि आयो । अागामी साल पनि खै कसरी बुझाउन सकिएला र यो अबुझ मन ? तैपनि भन्नैपर्छ अाउँदै गरेको नयाँ वर्षको शुभकामना- अबुझ मनबाट ।
अस्तु ।***
साभारः समुद्रपारि डट कम

Leave a comment

Filed under: अाफ्नो कुरा


Calendar

October 2017
M T W T F S S
« Jan    
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031