छुटाउन चाहेको एकोहोरो प्रेम…

November 10, 2016

smoke-loveहजार पटक कसम खाएँ अनि हजारै उपाय पनि अपनाएँ मैले तिमीबाट छुटकारा पाउने, तर धरोधर्म सकिन । एक, दुई, तीन सक्दैसकिन । कहिलेकाहीं त मान्छैमान्छेले भरिएको रेलको डिब्बाभित्र म एक्लै अनायासै फुसफुसाउँछु–‘आजबाट म तिमीलाई मरिगए अपनाउन्न ।’ तर मैले मनमनै गरेका ति प्रतिज्ञाहरु, आफ्नै कानले नसुनेका वाचाहरु, त्यसैत्यसै हावामा कावु खान्छन् । कहिलेकाहीं मैले सजिलै आफै एकतर्फी निर्णय गर्छु कि आजको दिन नै अन्तिम हुनेछ तिमीलाई अपनाउने, तिमीसँग लहसिने अनि तिम्रो एकैछिनको अभावमा तड्पिएर फत्र्याक फत्र्याक पर्ने । आसेपासेहरु मलाई सम्झाउँछन्, सल्लाह दिन्छन् अनि अन्त्यमा तीखो र रुखो बचन पनि लाउँछन –‘किन तँ यसलाई अपनाउँछस् ?’ म घोरिएर एकान्तमा सोच्छु, हुन पनि हो म किन बेकारमा तिमीलाई एकोहोरो प्रेम गर्छु ? भित्री मनबाटै क्रोधित हुन्छु, धित मरुञ्जेल तिमीसँग रिसाउँछु र म आफू एक्लै अनि फेरि अर्को थप एकपल्ट कसम खान्छु–‘आजबाट म तिमीलाई मरिगए अपनाउन्न ।’ तर आखिर जे गरेपनि फेरि मन फर्कन्छ तिमीप्रति । आखिर मन न हो प्राकृतिक रुपमा फर्कंदै जाने रहेछ । तिम्रो त मनै छैन पग्लने, फर्कने भन्ने कुरै भएन । त्यसैले कहिलेकाहीं त म सोच्छु तिमी मनै नभएकालाई मैले किन एकोहोरो प्रेम गरें ? वास्तवमा म पागल हुँ । एकोहोरो प्रेम गर्नेहरु पागल हुन्छन् कि त पागलहरु एकोहोरो प्रेम गर्छन । दुईकुरा आखिर एउटै हो । मेरो बुझाइसँगै एक धार्नी दुई विसौलीको मेरो मुन्टो हल्लिन्छ घण्टाघरको घडीको पेण्डुलम हल्लिए झैं । म साँच्चैको पागल हुँ, एकोहोरो तिमीलाई प्रेम गर्ने पागल ।

तिमीसँग प्रेम बसेको यो वर्षले ठ्याक्कै ५ पुगेर ६ मा लाग्यो । पहिले–पहिले मैले तिमीलाई साह्रै घृणा गर्थें अनि मैलेजस्तै अरुले तिमीलाई घृणा गरेको मन पराउँथें । तर कसरी अनायासै तिमीप्रतिको मेरो दुरी बढ्यो मैले सुईकै पाइन । शुरुमा तिमीसँग नजिकिनको लागि मलाई धेरै साथीहरुले सहयोग गरे । मलाई तिमीसँग नजिक्याएर आफूहरु तिमीलाई छाडेर गए, वेपत्ता भए, मायाँ मारे फेरि कहिल्यै फर्किएर मायाँ नगर्ने गरी । तिमीसँग नजिकिए पछि मैले केही पाएँ हुँला तर धेरै कुराहरु गुमाएको छु । तिमीसँगको सम्बन्धमा मैले सबैभन्दा बढी पाएको भनेको आत्म सन्तुष्टि मात्रै हो । कसैले आत्मसन्तुष्टि नै सबैभन्दा ठूलो कुरा हो पनि भन्छन् त कोही स्वास्थ्यसन्तुष्टि । तिमीले मलाई सन्तुष्टि दियौ बदलामा तिमीले कहिल्यै लिएनौं कि कुन्नी । सुन्छु तिमी अरुलाई दिन्छौ मात्रै तर आफूले केही लिंदैनौ । मन भए पो लिने ? तिमीलाई मैले धेरै मन पराउनु भन्दा पहिले अरु कसैले मलाई औधी मन पराउँथे । मतलव म कसैको मनमा बसेको थिएँ । कसैलाई मैले ईमान जमान दिने योजना बनाएको थिएँ तर तिम्रो आगमनले हाम्रो बीचमा फाटो आयो । त्यो पनि मैले चुपचाप सहिरहें ।

अहिले आएर म त घरबार भएको मान्छे । अफिसबाट फर्किंदा श्रीमती मायाँले स्वागत गर्छिन, खासखुस गर्दै भलाकुसारी सुनाउँदै नानाभाँती दुःखसुखका कुरा गर्न खोज्छिन तर तिम्रै कारण मैले उनीसँग कहिल्यै मुखमा मुख जुधाएर भलाकुसारी गर्न सकिन । हरेक साँझ छोरोले कथा सुनाउने अनुरोध गर्छ, म तिम्रै कारण उसको कानमा कथा फुसफुसाउन सक्दिन । यी त भए तिमीलाई अँगालेपछि मैले गुमाएका रमाइला क्षणहरु । भलै मैले रुघा नलागेपनि तिम्रै कारण मास्क लगाएर हिंडन वाध्य परेको छ । पहिलो पटक राजाको गाउँ छिरेको बेला देखेको ठूलो होर्डिङ्ग वोर्ड त्यसमा तिमी एक हट्टाकट्टा युवासँग लहसिएका थियौ । लेखिएको थियो –‘साहसीको एक मात्र चाहना, शिखर ।’ त्यही बेलादेखि मलाई तिम्रो नाम थाहा थियो वहा क्या नाम छ–’शिखर’ । तर हालैका दिनमा म तिम्रो नाममा भन्दा काम तमाममा बढी छटपटिन्छु ।
तिमीलाई पाईरहन मैले धेरै पैसा खर्च गरें । तिमीलाई पाउन खर्च गरेका पैसाका ढ्याकहरु सँगालेको भए भत्किएको धरहराभन्दा अग्लो हुन्नथ्यो भन्न सकिन्न । तर के गर्नु… तिम्रो मायाजालमा परिएछ ।
तिमीसँगको सम्बन्धले मलाई लाजशरम पनि हराएको अनुभव हुन्छ । अनुशासन पतन भएको मान्छेमा गनिन्छु कि खै कुन्नी तर म भन्दा ठूला मान्यवरहरुबाट सोधनी हुँदा एक्कासी झस्किन्छु –‘ए, भाई तिमीले पनि लिन्छौ ?’ म लाचार भएर उही एउटै जवाफ दिन्छु । ‘हजुर जापान आएर बानी लाग्यो ।’ जवाफको उत्तर दिन नभ्याउँदै हिजो कुनै दिन वाचन गरिएको कविताको एक अंश सम्झन्छु ।

खैनी खाने मान्छे थुक्दै थुक्दै हिड्छ,
चुरोट खाने मान्छे खोक्दै खोक्दै हिड्छ,
झमक्क साँझ पर्न नपाउँदै
भट्टी पसलबाट रक्सी पिउने मान्छे भुक्दै भुक्दै हिड्छ
तर
अफसोच
नशा विहीन यो ‘काले’
सबको सामु झुक्दै झुक्दै हिड्छ …

कुनै दिन तिमीलाई अपनाउनेहरुप्रतिको मेरो व्यङ्ग्य थियो यो । तर अहिले आफैले वाचन गरेका यी कविताका एक छेस्को मलाई नै व्यङ्ग्य गरिरहेको आभाष हुन्छ । मनमनै सोच्छु समयले मान्छेलाई कहाँकहाँ पुर्याउँछ । वर्णन गरिनसक्नु छ तिमीप्रतिको एकोहोरो माया । घरपरिवार, सुख सम्पत्ति सर्वस्व त्याग गरेर पनि तिमीलाई त्याग्न नसकेको एक साधु बाबाको वास्तविकता सम्झँदै म प्रण गर्छु तिमीप्रतिको यो माया धेरै लामो समय नटिकोस् । अस्तुः
(कथाको पात्र काल्पनिक मात्र हुन्, कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ)

Leave a comment

Filed under: अाफ्नो कुरा


Calendar

December 2017
M T W T F S S
« Oct    
 123
45678910
11121314151617
18192021222324
25262728293031