जापानको पार्कमा जे देखिन्छ…

December 23, 2016

पाखा पखेरा, देउराली भञ्ज्याङ्ग अनि पहाडकाे कन्दरामा हुर्केकाे म, यसाे पार्कतिर जाँदा हरियाली रूखविरूवा देख्दा वित्तिकै त्यसैत्यसै फुरूङ्ग हुन्छ यो मन । घर नजिकै पार्क छ-हिकारिगाअोका पार्क । जाँगर चल्दा यसो पार्कतिर गइन्छ हावा खान । समय भए, जाँगर र मोड चले न जाने हो नत्र जापानको व्यस्त दैनिकी, कामले लखतरान परेको निम्छरो ज्यान कहाँ गइन्छ र ? पहिलो नम्बरमा काम तथा पैसा अनि दोस्रो नम्बरमा स्वास्थ्य पर्दछ जापानमा बस्ने धेरैजसो नेपालीकाे । दैनिक व्यायाम गर्नु स्वास्थ्यको लागि राम्रै हो भन्ने थाहा पाएरै पनि हामी नियमित व्यायाम गर्दैनाैं । किनकी, एक अर्थमा समय छैन अर्को जाँगर । विदाको दिन अथवा समय भए फेसवुकमा झुण्डिने या त अलि बढी सुत्ने हाम्रो चाहना हुन्छ । त्यसै मध्येको एक मनुख्ये हुँ म पनि । प्रायजसो बेलुकी ढिलो सुत्ने र विहान पनि ढिलै उठने मेरो नानीदेखिको बानी । अझ जाडोको माैसममा त भो कुरै नगराैं -सिरकबाट बाहिर निस्कनै मन लाग्दैन । सानाे छँदा करैले उठन पर्ने, विहानविहानै घाँस काटन जान । मलाइ उठाउनको लागि अामाले कति सास्ती भोग्नु पर्यो भन्ने त यहाँ वर्णन गरेर साध्य नै छैन ।

जब विहान पार्क गएर लुखुरलुखुर एक फन्को मारेर यसो सुस्ताएको एकजना साइकलमा सवार भए, रेडियो धन्काउँदै । उनले साइकल रोकेर रेडियोलाइ त्यही ग्राउण्डको पेटीमा अड्याए । त्यसपछि एकपछि अर्को गर्दै केही मान्छेहरू जम्मा भए । उनीहरू एक अापसमा चिनजानका हुन हैनन् थाहा भएन तर उनीहरू एक अर्का कुरा पनि गरेनन् । विहानको अभिवादन भने हरेकले अाउँदै गर्दै गरे-अोहायो गोजाइमास । मलाइ लाग्छ सायद उनीहरू सबै चिनजानकै भएको हुन्थ्यो भने सबै सँगै नजिकै एकै ठाउँमा उभिएर व्यायाम गर्थे होलान् अनि सकिएपछि सँगै घर फर्किन्थे होलान । तर उनीहरू जो जहाँ उभिएको छ, त्यही नै व्यायाम शुरू गरे र सकिएपछि त्यहींबाटै घर फर्किए । रेडियो बजिरहेकै थियो । सायद विहानको ६ बजिसकेको थियो । रेडियोमा एक्कासी एउटा व्यायाम गराउने कार्यक्रम शुरू भयो-रेडियो थाइसो (ラジオ体操) एक..दुइ..तीन.. (一、二、三..) यस्तै यस्तै । रेडियो थाइसो (ラジオ体操) सकिएपछि सबै अा-अाफ्नो बाटो लागे । मैले अहिलेसम्म विहानमा दुइपटक पार्क गएँ दुइ पटक नै देखें-बडो गज्जब छ । म्युजिकको तालमा व्यायाम गर्दा रमाइलो हुने रहेछ । मैले पनि उभिएकै ठाउँमा उनीहरूले जे-जे गरे त्यही नै गरें । तन मन दुवै खुशी भयो मेरो पनि । अलि वर अाएपछि एक समूह म्युजिकमा नाच्दै व्यायाम गरिरहेका थिए । एकैछिन हेरें अनि घरतिर लागें लखरलखर ।

Leave a comment

Filed under: अाफ्नो कुरा


Calendar

December 2017
M T W T F S S
« Oct    
 123
45678910
11121314151617
18192021222324
25262728293031