तिहारसँगै फूल भएर सोचौं हामी…

October 28, 2016

hanaतिहार उज्यालोको पर्व हो । तिहार फूलहरुको पर्व हो । दीपावलीको झिलीमिली अनि फूल र मालाको कुरा हुन्छ तिहारमा । दिदी र भाइको प्रेमको कुरा हुन्छ तिहारमा । वर्षभरी व्यस्त भए पनि तिहारमा विशेषगरी विदेशमा रहनेहरु दिदी भाइ सम्झन्छन् । धार्मिक कथा अनुसार यामराजले भाईलाई लैजान लाग्दा दिदीले एउटा शर्त राखेकी थिइन अरे । तिमीले मेरो भाइलाई लैजाने नै हो भने मलाई एउटा पूजा गर्न देउ अनि मेरो एउटा शर्त पुरा गर त्यसपछि तिमीले लिएर जान सक्छौं । यामराजले कति नै ठूलो शर्त त होला र भन्ने लागेर हुन्छ भनेछन् । दिदीले भाईको पूजा गर्ने बेलामा तेलको धाराले घेरो हालेर, मखमली फूलको माला लगाइदिएपछि यामराजलाइ भनिछन्-‘ल अब तिमीले मेरो भाईलाई लैजाने हो भने यो तेलको धारा सुकेपछि अनि यो मखमली फूलको माला ओइलाएपछि लैजान सक्छौ’ । दिदीको भाइपूजा सकिएर पनि कैयौं दिनहरु विते तर न त त्यो तेलको धारा नै सुक्यो न त मखमली फूलको माला नै ओइलायो । अन्ततः यामराज दिदीको शर्तमा हार खाएर रित्तो हात फर्किए । यसरी दिदीले आफ्नो भाईलाई यामराजको हातबाट बचाएको दिन नै हामी कालान्तारदेखि ‘भाइटिका’ भन्ने नामले मनाउँदै आएका छौं ।

अहिले संसारको जुनसुकै कुनामा रहेपछि आफन्तलाई तिहारको शुुभकामना दिईरहेका छौं । तिहारको धून, गोदावरी र मखमलीका फूलहरुले सजिएको विभिन्न शुभकामना सन्देशहरु आदान प्रदान गरिरहेका छौं । सामाजिक संजालको सहयोगले देखभेट नै नभएका साथीहरु पनि तिहारको शुभकामना आदानप्रदान गरिरहेका छौं । हो, यस्तै चाडवाड अनि हामी नेपालीको परम्परा नै त हो एक आपसमा सम्बन्धको गाँठोहरु सुमधुर र बलियो बनाउने । जसले तिहारको उपलक्ष्यमा हार्दिक शुभकामना भन्नुभयो उहाँहरुप्रति म आभारी छु । अहिलेको संसारमा त्यसैमाथि व्यस्त दैनिकी रहेको जापानमा एकै छिन भनेपनि मेरो सम्झना गरिदिनुभयो । एकैछिन समय निकालेर मलाई सम्झेर शुभकामना सन्देशहरु पठाउनुभयो । ४ हजार भन्दा बढी मेरा फेसवुकका साथीहरु सबैले त मलाई सम्झेनन् र सम्झनुपर्छ भन्ने पनि होइन अनि सम्झेनन् भनेर दुःख मान्नुपर्ने पनि होइन । म दुःख मान्दिन पनि तर जतिले सम्झनुभयो आत्मीय ठानेर नै सम्झनुभयो । भलै सबैको शुभकामना सन्देशको बदलामा ‘सेम टु यू’ भन्न सम्म भ्याइरहेको छैन ।

तिहारको कुरा, उज्यालोको कुरा, सेल रोटीको कुरा, फूलहरुको कुरा मनमा आइरहँदा एक्कासी एउटा जापानी गीत जुन हामी जापान अाउँदा निकै सुनिन्थ्यो । अाज यतिका वर्षपछि फूलकै बारेमा गाइएको उक्त गीत विहान अफिस आउनासाथ सुन्न पुगें खै कसरी कसरी । संसारमा भिन्न भूगोल, भिन्न परिवेश, भिन्न जाति, धर्म अनि भाषा र भेष भए पनि फूलप्रतिको दृष्टिकोण लगभग उस्तै हो । सबैले मन पराउने फूल । दुःखमा सुखमा साथ दिने फूल । गीतको सारांश अनुसार हामी मानव पनि सृष्टिको एक प्रकारको फूल हौं । फूलहरु चाहे बँगैचामा होस्, चाहे पाखा पखेरामा होस्, या त विक्रीका लागि राखिएका पसलमा नै किन नहोस् छाती फूलाएर फक्रिएका हुन्छन् । जस्तो सुकै परिस्थितिमा पनि फक्रिनुमा कुनै कन्जुस्याइँ गर्दैनन् । हरेक रंग, हरेक साइजका फूलहरुको आ–आफ्नै विशेष महत्व रहे झैं हामी मानवले पनि त्यही अनुसार हरेकको आ–आफ्नो ठाउँमा महत्व उत्तिकै छ भन्ने कुरा विर्सन हुँदैन भन्ने शिक्षा गीतबाट लिन सकिन्छ । फूललाई कसैभन्दा राम्रो हुनु छैन । हरेक फूल आफैमा राम्रा हुन्छन अनि विशेषता पनि आ–आफ्नै । हामी संसारको फूलरुपी मानव पनि फूलले जस्तै आफैसँग भएको सीप, क्षमता र दक्षतालाई नै सर्वोपरी ठानेर एक आपसमा तँ भन्दा म के कम भन्ने भावनालाई हटाएर सबै आ–आफ्नो ठाउँबाट मेहनत गर्न सके किन हुँदैन र ? सबै एक नम्बर नै हुनुपर्ने भन्ने भावना हटाएर हामी सबै आ–आफ्नो स्थानमा आ–आफै नम्बर वान नै हौं भन्ने भावनाको विकास गरे यो संसार वेग्लै हुने कुरामा दुई मत नहोला । उज्यालो र फूलको पर्व तिहारको अात्मैदेखि शुभकामना ।
गीत सुन्नको लागि यहाँ क्लिक गर्नुहोला ।

Leave a comment

Filed under: अाफ्नो कुरा


Calendar

December 2017
M T W T F S S
« Oct    
 123
45678910
11121314151617
18192021222324
25262728293031