त्यो बेलाको दसैं ! अाहा, त्यस्तो पो दसैं

October 5, 2017

dashain-pingखरले छाएको पुरानो घर भएपनि लिपपोतको लागि चटारो । कतै रातोमाटोले लिप्ने त कतै कमेरो । पुराना ब्याट्री फुटालेर काली बनाउने अनि चिटिक्क पारेर झ्यालढोका कालो रंले रङ्ग्याउने । पिंढी र आँगन लिप्नका लागि कुवापानी (ठाउँको नाम) बाट चाम्रे माटो ल्याईन्थ्यो । दसैंंको टिकाको दिनमा पाँच रुपैयाँको नयाँ नोट दक्षिणास्वरुप दिने सर्तमा एकदुुई खेप माटो बढी बोकिन्थ्यो । सबै गाउँलेहरु घरआँगन, करेसा सरसफाईमा व्यस्त हुन्थे । कमेरोखोलामा कमेरो माटो लिन जाने, जैथुम्का (ठाउँको नाम) को डाँडामा रातो माटो लिन जानेको भिड अनि रातो माटो निकाल्न नदिने डाँडाघरे दिदीको गनगन । जैथुम्कामा माटो नपाएपछि राघेडाँडातिर माटो बोक्न जानेहरुको लर्को । भीरबारी, मिझारबारीको बारीका कान्लाभरी माटोको बोरा र थुन्सेको भारी । घटस्थापनाको दिनदेखि गाउँमा नौरथा शुरु हुन्थ्यो । नौरथामा दैनिक कोटघरमा पूजा हुन्थ्यो । रेडियोमा दसैंका गीत र मालसिरी धुनहरु बज्न थाल्थे । घटस्थापनाको दिनमा भण्डारको कुनामा राखेको जमरामा हरेक दिन चोखो पानी राख्ने, जमरा कत्रो भयो भन्दै हेर्ने अनि साथीहरुसँग कस्को घरको जमरा कत्रो भयो भनेर कुराकानी गर्दै टिकाको दिन आउन कति दिन बाँकी छ भनेर औंला भाँच्दै गन्न पाईन्थ्यो र पो दसैंं आएजस्तो लाग्थ्यो ।
दसैंमा घरमा आउने पाहुनापासाका लागि, परदेशिएका दाइदिदीका लागि भनेर झिक्रोमा नै थोत्रो डोको राखेर त्यसैमा बाँधेर काँक्रो राखिन्थ्यो । बाँधेर राखेको काँक्रो चोरले चोर्देला भनेर चिन्ताले सताउँथ्यो । दिनदिनै विहान उठेर काँक्रो गन्थ्यौं । काँक्रो झिक्रैमा पटपटी फुटेर पाक्थ्यो, केरा बोटमै पहेंलपुर हुन्थ्यो र पो दसैं आएजस्तो लाग्थ्यो । दिनभरी दौंतरीहरुसँग रोटेपिङको खामो, मादल, डाँडी र पिर्का घुर्राहरु बनाउन दाइहरुको पछिपछि बन चहारिन्थ्यो । ‘फोर्सेकी (गाउँको नाम) ले ३२ पिर्का भएको रोटे पिङ हालेको छ रे’ – ठूल्दाइहरु कुरा गर्थे । हाम्रो गाउँमा बन्ने पिङ कस्तो होला ? पिङमा सबैभन्दा पहिले को खेल्ला ? यस्तै यस्तै कुरा गर्दै हामी भुरुनाहरु गाउँको तलमाथि दौडन्थ्यौ र पो दसैंं आएको जस्तो लाग्थ्यो । दसैंको लागि भनेर खर्चपर्चको मेसोमेलो गर्न गाउँका ढिकीजाँतोहरु रातदिन व्यस्त रहन्थ्यो । आमा, दिदी अनि भाउजुहरु रक्सी बनाउनमा व्यस्त देखिन्थे । हामी भन्दा अलि माथिका ठुल्दाइहरु दसैंंमा कुलकुलेसा, पाटी पौवा, बाटोघाटो सरसफाईमा पनि व्यस्त हुन्थे । बाटो फाँड्न गएका दाइहरुले भुर्लुङ्ग बनाइदिन्थे अनि हामी एक हातमा भुर्लुङ्ग समाउँदै एक हातले जाँगे समाउँदै गाउँभरी डुल्थ्यौं र पो दसैं आएजस्तो लाग्थ्यो ।

दसैंको मौका पारेर विदेशिएका लाहुरे दाइहरु भरियालाई ट्यागा बोकाएर टेपरिकर्डर भिरेर गाउँ फर्कन्थे । फलानोको दाइ लाहुरदेखि आएको छ रे भन्ने थाहा पाएपछि हामी घरदेखि पर बाटोसम्म हेर्न जान्थ्यौं । कतिजना भरिया आएका छन्, के के ल्याएका छन् भनेर दगुर्दै गाउँका सबैलाई भन्ने हुलाकीको काम हाम्रो हुन्थ्यो । लाहुरेदाइहरुले लगाएको नयाँ लुगा अनि अत्तरको मीठो वास्ना आहा, क्या सुगन्ध । आफूपनि भविष्यमा लाहुरे बनेर यसरी नै दसैंमा अत्तर छरेर घर फर्किने कहिले होला भनेर कल्पना गरिन्थ्यो । लाहुरे दाइहरुले ल्याएको चकलेट र चुईंगम खाँदै, लाहुरेदाइहरुले गरेको पल्टने गफ छेवैमा टुसुक्क बसेर सुन्नको मज्जा नै अर्कै हुन्थ्यो । छुट्टीमा आएका लाहुरेदाइहरु घर फर्कन नपाएका साथीहरुको नासो र चिठीपत्र लिएर आइदिन्थे । कुन लाहुरेले कस्को नासो ल्याएको छ सबैभन्दा अगाडि थाहा पाउनेमा हामी नै पर्थ्याैं । फलानो लाहुरे दाइ आएका छन्, फलानो लाहुरे दाइ आउन पाएनन् रे, अर्को वर्ष आउने रे । घरमा बेलुकीको खाना खाएपछिको कुराकानीको बिषय नै त्यहीं बन्थ्यो । दसैं नजिकिंदै गर्दा गाउँघरको वातावरण नै अर्को हुन्थ्यो । असोज कार्तिकको घमाइलो दिन । दसैंंको नौरथा लागेपछि स्याउकर्णे दाइले गाउँभरी डुलेर बाजा बनाउँदै बढाई गर्नुहुन्थ्यो । हामी भुराहरु बाजा बजाएको हेर्नलाई स्याउकर्णे दाइको अघिपछि–अघिपछि गर्दै दगुर्थ्याैं ।

दसैंको दिन वर्षभरीमा एकसरो नयाँ लुगा यो ज्यानमा फेरिन्थे । नयाँ लुगाको बास्ना लिंदै, आफ्नै ज्यानको नयाँ लुगा हेर्दै हामी मख्ख पर्थ्याैं र पो दसैंं आएजस्तो लाग्थ्यो । दसैंको बेला मीठो मसिनो चुलामा पाक्थ्यो । घरमा खसी नै नकाटेपनि यताउता छिमेकीसँग बाँडीचुडी मासुको व्यवस्था पनि हुन्थ्यो । हामी केटाकेटी मासुभात, रोटी, विभिन्न किसिमका फलफूलहरु खान पाइन्थ्यो र पो दसैं आएजस्तो लाग्थ्यो ।
टिकाको दिन निधारभरी टिका लगाइन्थ्यो । टिका र आशिक लिन भन्दा पनि दक्षिणाको आशामा गाउँभरी टिका लगाउन गईन्थ्यो । टिका लगाउन बस्दा पनि दक्षिणा राखेको टपरीमा कति पैसा छ भनेर छड्के नजर लगाइन्थ्यो । आफूले पाउने सुका मोहर भए पनि टपरीमा राखेको अलि ठूलो रकम देख्दा मनै ढुकढुक बनाउँथ्यो अनि कतै आफैले पाई नै हाल्छुकी भनेर आशा पनि लाग्थ्यो । हामी भुराहरुले कागजको नोट पाउने त असम्भव नै हुन्थ्यो । पैसा जम्मा गर्ने दाउमा आफ्नो नातापाता कोही पनि नपर्ने घरमा पनि टिका लगाउन गईन्थ्यो । कतिपयकोमा टिका लगाउन जाँदा ’यो बज्या त छोरोमान्छे पो हो त यसलाई दक्षिणा दिन पर्दैन, छोरा मान्छेले त कमाएर ल्याउने हो’ – भन्दै जमरामात्रै हातमा थमाइदिंदा आफू छोरी भएर नजन्मेकोमा पश्चाताप पनि मानिन्थ्यो । कुनै घरमा भने केटाकेटी हो निराशा पार्नुहुँदैन भनेर सुका, मोहर दिन्थे । तिनै सुका, मोहर र रुपैयाँसम्मका ढ्याकहरु झिलझिलेमा हालेर हल्लाउँदै गाउँभरी तलमाथि गर्न पाइन्थ्यो र पो दसैंं आएजस्तो हुन्थ्यो । ***

Leave a comment

Filed under: अाफ्नो कुरा

Leave a Comment

, (Hidden)

XHTML: You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

TrackBack URL  |  RSS feed for comments on this post.


Calendar

February 2018
M T W T F S S
« Oct    
 1234
567891011
12131415161718
19202122232425
262728