मृत्युको मिति तोकिएको मान्छे: जसले हजारौं ह्वीलचियर विदेश पठाए

October 4, 2017

नेपाल पठाउने तयारी, भोलेन्टियर सहयोग गर्न नेपालीहरुमा अपील

टोकियो – क्यान्सर लागेर डाक्टरले अब तिम्रो आयु डेढ वर्ष भन्दा बढी छैन भनेर भन्यो भने त्यो विरामीको अवस्था कस्तो होला ? सायदैले संघर्ष गरेर बाँकी भविष्यको उज्यालो देख्छ । यस्तै उदाहरण मध्येका एक हुन मोरिता हिरोकासु । आफू क्यान्सरबाट पीडित, बाबुआमा अशक्त ह्वीलचियर नभई यताउता गर्नै नसक्ने । त्यतिमात्र नभई शारीरिक रुपमा अशक्त एक छोरा, उनी पनि ह्वीलचियरविना चल्नै नसक्ने । जिन्दगीको जुनै कोणबाट हेर्दा पनि अन्धकार र कहालीलाग्ने अवस्था बाहेक अरु थिएन उनको । कतिपटक त उनलाई आत्महत्या गरुँ झैं नभएको पनि होइन । तर मर्नु समस्याको समाधान होइन, जति सकिन्छ बाँचेरै गर्नुपर्छ भनेर सामाजिक काम गर्न कस्सिए उनी । परिवारमा तीन–तीनजना अशक्त सदस्य । आफू डाक्टरद्वारा मृत्युको दिन तोकिएको मान्छे । तत्काल ठूलै केही गर्न पनि पैसा चाहिने । यसो गरौं, उसो गरौं भनेर प्रस्ताव राख्दा धेरैजसोले पैसा छैन भन्थे तर पैसा त उनीसँग थिएन नै त्यो भन्दा अर्को कुरा उनीसँग पर्याप्त समय थिएन । जति गर्नु छ अब डेढ वर्षभित्रै गर्नुपर्छ । के गर्ने र के नगर्ने दोधारमा कैयौं रातहरु अनिदै छिचोले उनले । एकदिन आफ्नै छोराले प्रयोग गरेर सानो भएर मिल्किराखेको ह्वीलचियर देखेर उनको मनमा एक्कासी एक सामाजिक काम गर्ने जुक्ति फुर्याे। जापानमा पुराना र प्रयोगमा नआएका ह्वीलचियरहरु संकलन गर्ने र विकासोन्मुख देशका अपाङ्गहरुलाई पठाउने ।
शारीरिक रुपमा अपाङ्ग भई घरको भित्रबाहिर गर्न नसक्नेहरुलाई सम्झिए, स्वतन्त्ररुपमा बाहिर हिडडुल गर्न नसक्नेहरुलाई ह्वीलचियरमा राखेर बाहिरफेर हिडाउन पाए कस्तो होला ? उनले कल्पिए । एक स्वास्थ्य मानिस समेत एकहप्ता कोठा बाहिर ननिस्कने हो भने विरामी हुनसक्छ, विचरा अपाङ्गहरु सँधै घामको किरण नपुग्ने, हावा नछिर्ने अँध्यारो ठाउँमा बस्नुपर्दा कस्तो होला ? उनी कुराकानीकै क्रममा भावुक भए । चार पटकसम्म क्यान्सरको अपरेशन गरेर मृत्युसँग लड्दै २००४ सालमा एक संंस्था खोले विदेशमा ह्वीलचियर पठाउने संस्था 海外に子ども用車椅子を送る会 ।
भगवानले सँधै भन्छन्–तँ आँट, म पुर्याउँछु । सोही अनुरुप मोरितालाई सहयोग गर्नेहरु हरेक दिन थपिंदै गए । व्यक्तिगत, समूहगत र संस्थागत हिसावले सहयोगी हातहरु बढ्दै गयो । हाल संस्थाले म्यानमार, इण्डोनेशिया, फिलिपिन, थाई, इथियोपिया, भियतनाम, नेपाल तथा इण्डिया लगायतका २३ बढी देशहरुका वालवालिकाहरुका लागि करीब ६ हजार बढी ह्वीलचेयर पठाइसकेको छ । मोरिताको संस्थाले जापानमा प्रयोगमा नआएका पुराना ह्वीलचियरहरु संकलन गरेर मर्मत गरी निःशुल्क अन्य देशका वालवालिकाहरुको प्रयोगको लागि पठाउँदै आईरहेको छ । नेपालमा २००७, २०११ र २०१२ साल गरी अहिलेसम्म २ सय बढी ह्वीलचियर पठाइसकेको छ । नेपालमा ह्वीलचेयर पठाउनको लागि पोखरास्थित सिविआर सर्भिससँग सहकार्य भएको छ । अन्य स्थानका लागि पनि सहकार्य गर्ने संस्थाहरुसँग कुराकानी भईरहेको उनले बताए ।

यस वर्ष ९० वटा ह्वीलचियर नेपाल पठाउने तयारी भईरहेको छ । यस कार्यमा नेपाली स्वयम सेवकहरु पनि मर्मत कक्षामा आएर आफ्नो देशमा पठाउने ह्वीलचियर सफाई तथा मर्मत कार्यमा सहयोग गरिदिए हुन्थ्यो भन्ने आशा राखेका छन् मोरिताले । हरेक महिनाको तेस्रो आइतवार विहान १० बजेदेखि दिउँसो १५ बजेसम्म इच्छुकहरुले आफूले सकेको श्रमदान गर्न सक्ने उनले बताए । पैसा मात्रै ठूलो कुरा होइन, पैसाले मात्र खुशी पाउन सकिन्न, आफूले जहाँ जे सकिन्छ त्यही दिने हो उनी थप्छन । हरेकले आफ्नो ठाउँबाट सकारात्मक काम गर्दै जानुपर्छ । हरेक कुरा असम्भव छ भन्नुभन्दा अगाडि सम्भावना के छ भनेर पनि सोच्नुपर्दछ – उनी भन्छन् । एकपटक मात्र नेपाल भ्रमण गरेका मोरिता नेपाललाई धेरै माया गर्छन् । तर व्यस्तताले फेरि नेपाल जाने समय मिलाउनै सकेका छैनन् । नेपालको लुम्बिनी, पोखरा भ्रमण गरेका उनी आफू नेपाल नगए पनि नेपालका अपाङ्गहरुलाई ह्वीलचियर पठाउने कार्यलाई भने निरन्तरता दिईरहेका छन् । ह्वीलचियर प्राप्त गरेपछि त्यहाँका परिवारले चिठी, फोटो आदि पठाउँछन् त्यो पाउँदा उनलाई संसारकै ठूलो खुशी पाए झैं लाग्छ ।
उनको आफ्नै सानोतिनो व्यवसाय छ । छोराछोरी ठूला भए, आ–आफ्नै काम गर्छन । शारीरिक रुपमा अपाङ्ग छोराले पनि काम गरेर आफ्नो लागि केही खर्च जुटाउँछ । ह्वीलचियरविना दायाँवायाँ गर्नै नसक्ने छोरोले कस्तो काम गर्छन ? भनेर जिज्ञासा राख्दा जापानमा शारीरिक रुपमा अपाङ्गहरुका लागि पनि सरकारले त्यस्तै खालको कामको व्यवस्था गरेको छ । छोराले ह्याण्डी क्यापको सामान बनाउने काम गर्ने बताए । सरकारले नागरिकका लागि आर्थिक राहत वितरण गर्ने भन्दा पनि काम गर्ने वातावरणको सिर्जना गरिदिनुपर्ने उनी बताउँछन् । उनी भन्छन्–पैसा सँधै दिन सकिन्न, काम गर्ने वातावरण बनाइदियो भने काम गर्न सकुन्जेल काम गर्छ र सँधै पैसा आउने बाटो पनि रहिरहन्छ । सरकारकै मात्र मुख नताकेर सपाङ्ग, अपाङ्ग हरेकले आफ्नो ठाउँबाट आफूले सकेको गर्नुपर्छ, आफ्नो लागि मात्र होइन, भावी पिंढीका लागि पनि हामीले केही गरिदिनुपर्छ । अन्तमा उनले हौसिँदै भने–‘एक पटक मृत्युको दिन तोकिएको म बाँचुञ्जेल संसारको अपाङ्गहरुको सहारा बन्ने कोशिस गर्छु ।’***

Leave a comment

Filed under: अाफ्नो कुरा


Calendar

October 2017
M T W T F S S
« Jan    
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031