विद्यार्थी, विद्यार्थीको सेमिनारमा जाने कि नेताको कार्यक्रममा ?

December 8, 2016

seminarजापानमा कुकको समस्या जति छन् विद्यार्थीको समस्या पनि त्यतिकै छन् । कुक र विद्यार्थीको मात्र होइन, साहुजीको पनि समस्या उत्तिकै छन, डिपेन्टेन्टहरूको पनि समस्या उत्तिकै छन् । साेही अनुरूप हरेकले आ–आफ्नो ठाउँमा समस्याहरु भोग्दैछन् । त्यसैले त म भन्छु-‘जिन्दगी भोगाईहरुको थुप्रो हो’ । मानिस, समय र ठाउँ अनुसार भोगाई फरक–फरक होलान तर भोगाईहरुमा समस्या मिश्रित हुन्छन नै । केही समय अगाडिको आँकडा अनुसार जापानमा नेपालीहरुको संख्या करीव ६५ हजार नाघिसकेको छ अनि त्यसमा विद्यार्थीहरुको संख्या करीव २० हजार बढी छ । विद्यार्थीहरु नेपालबाट जापानी भाषा स्कुल अध्ययनको लागि जापान आउँछन । नयाँ ठाउँमा आएलगत्तै उक्त ठाउँमा आफूलाई स्थापित गराउनको लागि संघर्ष पनि त्यतिकै गरिरहेका हुन्छन् । नेपालबाट चर्को व्याजदरमा ऋण लिएर आएपछि त्यसको भारी थाप्लोमा पर्ने त एकातिर छँदैछ त्यो भन्दा अर्को समस्या भनेको जापान आएपछि काम नपाउने समस्या, भाषाको समस्याले गर्दा हुने अन्य विविध समस्याहरु पनि छन् । त्यसैगरी जापानी भाषा स्कुलको पढाई सकेपछि कलेज तथा भोकेसनल स्कुलमा भर्ना हुने समयमा खट्किने आर्थिक समस्या मात्र होइन हालैका दिनमा विदेशी विद्यार्थीहरुको संख्यामा आएको वृद्धिसँगै कलेज तथा स्कुलहरु सजिलै प्रवेश पाउन नसकिने समस्या पनि थपिएको छ ।

जसोतसो कलेज तथा भोकेसनल स्कुल प्रवेश गरेर पढाई सकेपछि फेरि अर्को भीमकाय समस्या भनेको कामको लागि आईपर्ने समस्या छन् । नेपाल र जापानको कलेजको सिस्टम फरक अनि त्यसैगरी कलेज तथा स्कुल सकेपछि काम खोज्ने सिस्टम पनि फरक नै छ । सोही सिस्टममा चल्न नसक्नु विदेशी विद्यार्थीहरुको समस्या हो भन्ने कुरा अनुभवीहरू बताउँछन् । फलतः जापानी भाषा स्कुल सकिएर कलेज तथा भोकेसनल स्कुल भर्ना हुने समयसीमा नजिकिंदै गर्दा पनि कुन स्कुल तथा कलेज प्रवेश गर्ने भन्ने कुरामा ध्यान नै नदिने बानी विद्यार्थीहरूमा देखिन्छ । त्यसैगरी कलेज तथा स्कुल सकेपछि काम खोज्ने समयमा पनि समस्या त्यही नै हो ।

यिनै र यस्तै खाले समस्याहरुको निराकरण गर्न भनेर केही समय अगाडिदेखि नै विभिन्न संघसंस्था तथा कम्पनीहरुले विद्यार्थीहरुको समस्यालाई मध्यनजर गरेर कलेज तथा स्कुल परिचय गराउने अनि कलेज तथा स्कुल सकेर काम खाेज्ने समय भएका विद्यार्थीहरुका लागि कम्पनी कसरी खोज्ने, जापानको काम खोज्ने संस्कार, रेजुमे कसरी लेख्ने भन्ने जस्ता विषयमा आधारित रहेर विभिन्न समयमा कार्यक्रमहरु हुने गरेका छन् । केही समय अगाडि पनि एनआरएन कान्तोको आयोजनामा विद्यार्थीहरुलाई कस्तो कम्पनी कसरी खोज्ने, कम्पनी खोज्दा आईपर्ने समस्याहरुको बारेमा एकदिने कार्यक्रम गरियो । विद्यार्थीको लागि भनेर राखिएको कार्यक्रममा विद्यार्थी भन्दा अन्यको उपस्थिति बाक्लो थियो । केही अगाडि भएको एक जब हन्टिङ्ग कार्यक्रममा नेपाली विद्यार्थीहरु त्यही स्थलमा गएर रिरेकिस्यो लेखेको, कतिले रिरेकिस्यो नै लिएर नगएको भन्ने कुराहरु बाहिर आएकोले एनआरएन कान्तो, नेपाली इन जापान, नेपाकेन र नाप लगायतका संघसंस्थाहरुको संयोजनमा विद्यार्थीहरुलाई रिरेकिस्यो भर्ने तरिका सिकाउने एकदिने क्याम्पको आयोजना नै गर्यो । केही दिन अगाडिदेखि नै तामझामका साथ तयारी गरियो तर कार्यक्रम हुने दिनमा विद्यार्थीहरुको उपस्थिति सोचे भन्दा अति नै न्यून देखियो । आयोजकको जानकारी अनुसार करीव १ सय ६ को हाराहारीमा नाम दर्ता गराएका विद्यार्थीहरु उक्त दिनको उपस्थिति सोचेभन्दा अति नै न्यून भयो । १ सय ६ को हाराहारीमा दर्ता भएको नामलिष्ट हेरेर आयोजकले पनि राम्रै तयारी गरेको थियो । तर एक अर्थमा दुलाहा नै उपस्थित नभएको विवाह जस्तो हुनपुग्यो कार्यक्रम । जसको लागि भनेर कार्यक्रम आयोजना गरिन्छ, उनीहरुनै उपस्थित हुँदैनन् भने सहयोग गर्न चाहनेहरुले मात्रै के गर्ने ? जापानी स्वयमसेवकहरु, कम्पनीका प्रतिनिधीहरु लगायतको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा सोचेजति विद्यार्थीहरुको उपस्थिति नभएपछि यो भन्नै पर्ने हुन्छ शिकार गर्न कुकुर आफै दौडनुपर्छ, उचालेको कुकुरले शिकार गर्न सक्दैन । आफ्नो लागि आफैले गर्नुपर्छ भन्ने भावनाको विकास नेपाली विद्यार्थीहरुमा हुँदै नभएको देखियो ।

यसै प्रसंगमा एउटा कुरा यहाँ राख्न अनुमति चाहन्छु । केही दिन अगाडि एकजना विद्यार्थी भाई रिरेकिस्यो प्रिन्ट गर्नुपर्यो भनेर आउनुभयो । के लेखेर ल्याउनुभएको होला भनेर हेरेको त नाम र ठेगाना मात्र । अन्य कुरा सबै मैले नै मिलाएर भरिदिनु पर्ने रे । कतिपय कुराहरु आफ्नो नीजी विचारका कुराहरु हुन्छन् मैले कसरी लेखौं त भन्दा यसो मिलाएर लेखिदिनुस् मलाई आउँदैन भन्नुभयो । हो, जानेर सबैले आएका हुँदैनन् तर सँधैभरी नजानेरै रहने कि सिकेर जान्न कोशिस पनि गर्ने ? यदि जानिन भने अायोजित ती कार्यक्रममा किन जाँदैनन् ? के नजान्ने हुँदा सानो भइने हो ? अथवा नजान्ने हुन नखोज्ने हो ? यदि साँच्चै नै विद्यार्थीहरु समस्यामा परेका हुन भने उक्त दिन लामै लाइन लाग्ने अनुमान गरिन्थ्यो तर किन उपस्थित भएनन् त कार्यक्रममा ? यसको सम्पूर्ण जवाफ विद्यार्थीहरु स्वयंमले दिन जरुरी छ । हरेक समय समस्या परियो भनेर भन्दै हिड्ने तर हामी सहयोग गर्दछौं भनेर सहयोगी हातहरु फैलंदा किन त्यसको लाभ लिन सक्दैनन ?

थोरै प्रसंग बदल्नु पर्दा । खाना खान सिनओकुवोस्थित एक रेष्टुरेन्टमा जाँदा केही विद्यार्थीहरु चुरोट तान्दै थिए । अाज त मेरो विदा हो भन्दै केही वियरका गिलास रित्याउँदै पनि थिए तर सोही दिन नेपालबाट आउनुभएका एक नेताको भाषण हुने योजना सार्वजनिक भएको थियो । विद्यार्थीहरु कुरा गर्दै थिए अब केही खाएर त्यही कार्यक्रममा जानैपर्छ । त्यति मात्रै होइन उनीहरुको वार्तालाप सुन्दा ती मध्ये कतिजना त उक्त नेताको कार्यक्रममा जाने भनेर काम नै विदा बसेको पनि बुझियो । त्यति सुन्दा सुन्दै एक जापानी नागरिकले केही समय अगाडि एक कार्यक्रममा भन्नुभएको कुरा सम्झना गरायो । नेपालीले देश फेरे, भेष फेरे तर आफ्नो बानी फेर्न सकेनन् । हुन पनि हो, नेपालका नेताले राजनीति गर्ने भनेकै विद्यार्थीहरुको आडमा हो र विद्यार्थीहरु पनि यो सोचाईमा हुन्छन् कि राजनीति गर्ने भनेकै हामीहरूले हो । तर यो सोचाई नेपालमा मात्र सीमित रहेन, जापान आएर पनि उक्त मनस्थिति बदलिएको रहेनछ । विद्यार्थीको हकहितको लागि आयोजित कार्यक्रममा जाँदैनन् विद्यार्थीहरु जो नेपालबाट नेताहरु आउँदा काम नै विदा लिएर उपस्थित हुन्छन् । अाखिर नेता अाएको कार्यक्रममा जानै पर्छ भन्ने के छ ? आफू र आफन्तको भविष्यको लागि भनेर जापान आएका विद्यार्थीहरु विद्यार्थीको लागि राखिएको कार्यक्रममा उपस्थित हुने कि नेता आएको कार्यक्रममा ?
rkdura@gmail.com

Leave a comment

Filed under: अाफ्नो कुरा


Calendar

December 2017
M T W T F S S
« Oct    
 123
45678910
11121314151617
18192021222324
25262728293031